कुशल दाहाल
बैंकमा काम भएकोले मलाई बिदा मिलेको थिएन । काममा नियमित गइरहेको थिएँ । बैंकमा काम गर्दा स्वाभाविक रूपमा धेरै मानिसहरूसँग सम्पर्क र भेटघाट गर्नुपर्ने भएकोले विशेष सावधानी पनि अपनाइरहेको थिएँ । सावधानी अपनाउँदा–अपनाउँदै पनि मलाई संक्रमण भएको पत्तै भएन ।
मलाई केही दिन अगाडि ज्यानलाई थकान महसुस हुने आँखा पोल्ने अनि ज्वरो आउला–जस्तो भएको थियो । त्यो समय म आफ्नो कार्यालयमा काम गर्दै थिएँ । मलाई कता–कता काम गर्न अलि असजिलो महसुस भयो । काम गर्ने क्रममा घर जाने बेला भयो, अनि मैले कार्यालय टिमलाई मलाई भएको सबै समस्या बताएँ। अनि केही दिनको लागि घरमा आराम गर्ने भइयो ।
केही हुँदैन भन्ने विश्वास
बेलुका घर फर्कंदा साइनेक्स नामक औषधि लगेर खाएँ । खाना खान मनै थिएन, खाना नखाई आराम गरेँ । एक दिनमै म निको भएँ । भोलिपल्ट कार्यालय गएर मैले अफिसका सबै साथीहरूलाई मबाट अलि टाढा हुनु है भनेर जिस्किएँ पनि । उहाँहरूले पनि मुसुक्क हाँस्दै हुन्छ भन्नुभयो र त्यो कुरालाई मनन गरेर सामाजिक दूरी कायम गर्नुभयो ।
म पनि आफ्नो काममा व्रुयस्त भएँ । काम गर्दैगर्दा मलाई एक जना साथीले फोन गर्नुभयो, जोसँग अघिल्लो दिनमात्रै भेटेको थिएँ। उहाँले सोध्नुभयो, ’कुशल तिमी कहाँ छौ ? ’म अफिसमा, किन र दाई के भयो ? मैले सोधेँ। दाइले आफूले पीसीआर जाँच गराएको जानकारी गराउन फोन गरेको भन्नुभयो । ’मलाई यसरी फोन आयो, तर मलाई थाहा छ ः मलाई केही भएको छैन । केही समस्या पनि छैन । म स्वस्थ छु, यदि मलाई कोरोना छ भने पनि म पचाउन सक्छु,’ कार्यालयका साथीहरूसँग सल्लाह गर्ने क्रममा मैले भनेँ, ’तर, कार्यालयका लागि र कार्यालयमा आउने ग्राहकहरूका लागि, अनि तपाईंहरू र घरमा भएका बालबच्चा र समाजको लागि म केही दिन फेरि घरमा बस्नुपर्ला जस्तो छ ।
मैले भनेअनुरूप साथीहरूले पनि ’हुन्छ’ भन्नुभयो । फेरि म घरमा बस्न थालें । एक दिनपछि बेलुका त्यही नम्बरबाट फोन आयो, ’हेलो कुशल ! तिमी कहाँ छौँ ? मेरो रिपोर्ट पोजेटिभ आयो, तिमी पनि चेक गर्नु है ! मैले ’हुन्छ’ भनेपनि डर चाहिँ लागेको थिएन । किनकि मलाई पूर्ण विश्वास थियो ः मलाई केही हुँदैन । मसँग कुनै लक्षण थिएन, तैपनि मैले कोरोना नामक भाइरसलाई सामान्य रूपमा लिइसकेको थिएँ ।
तर, समाजले हेर्ने दृष्टिकोण अनि समाजको मनोविज्ञानलाई कसरी फेस गर्ने भन्ने चुनौती थियो । समाजमा फैलिएको कोरोनासम्बन्धी भ्रमलाई कसरी चिर्ने भन्ने चाँहि मस्तिष्कमा घुमिरह्यो । जतिखेर समस्या आउँछ, त्यही समयमा सामना गर्नुपर्छ भन्ने मानसिकता बनाएँ ।
संक्रमणपछिको त्रास
भदौ १७ आफूलाई कोरोना संक्रमण भएरनभएको थाहा पाउन गते स्वाब परीक्षण गराउन अस्पताल गएँ । अस्पतालले स्वाब नमूना लियो र चिकित्सकहरूले रिपोर्ट नआउन्जेल केही समयको लागि घरमा बस्न तथा पोजेटिभ देखिए होम क्वारेन्टाइनमा थप समय बस्न सुझाए ।
घरमा फर्केर अलग्गै बस्न थालेँ । बैंक र बाहिरका साथीहरूलाई पनि जानकारी गराएँ । त्यसको दुई दिनपछि बेलुकीपख स्वास्थ्य विभागबाट फोन आयो र मेरो रिपोर्ट पोजेटिभ आएको जानकारी गराइयो । यो जानकारी पाएपछि एकछिन त केही सोच्नै सकिनँ, किनभने मलाई केही लक्षण नभई कोरोना संक्रमण पोजेटिभ देखिएको थियो । तर, कमजोर भएर रोगसँग लड्न सकिँदैन भन्ने लागेर आफैँलाई सकारात्मक बनाएँ ।
मेरो परिवार पनि सँगै भएकोले उनीहरूको साथ र हौसलाले ममा थप आत्मबल बढायो । यो सामान्य रुघाखोकीजस्तै हो, यसलाई सजिलै जित्नसक्छु भन्ने आत्मबल र आत्मविश्वास थियो । घरमा आमा, मामा, माइजुलगायत सबै आफन्तलाई खबर गरें । मैले घरमा सल्लाह गरेँ ः ’म घरमा बस्दा हुन्छ कि बाहिर ?’ मेरो परिवारका सदस्यहरूको चेतना उच्च भएकै कारण सजगता अपनाएर म घरमै बस्ने निर्णय भयो । तर, आइसोलेसन नपाएर होइन ।
मेरो घरमा बस्ने ठाउँ हुँदा र घरको परिवारको निर्णय पनि घर मै बस्दा हुन्छ भनिरहँदा म बाहिरको आइसोलेसनमा बस्रुनु ठीक थिएन । किनकी, म त्यहाँ बस्दा अर्को गरीब र विपन्न बिरामी नागरिकले ठाउँ नपाउन सक्थे। म घरमै बसिदिँदा कम्तिमा एक जना संक्रमितले आइसोलेसनमा बस्न पाउँथे । यो निर्णय भइसकेपछि साथीभाइ र आफन्तलाई ’मेरो स्वास्थ्यअवस्था सामान्य छ, चिन्ता लिनु पर्दैन’ भन्दै आश्वासन दिँदै थिए । ६ दिनसम्म घरमा बस्दा स्वास्थ्य विभागले सोधपुछ गरिरह्यो। अस्पतालबाट पनि एकदमै केयर पाएँ । आफ्नै घरमा बस्दा पनि फोनमार्फत धेरै केयर पाएर म निकै खुसी भएको छु ।
होसियार हुनुपर्दो रहेछ
मेरो अनुभवमा वास्तवमा कोरोना भाइरस भाइरल रुघाखोकी निम्त्याउने जस्तै सामान्य जीवाणु हो । विभिन्रुन सञ्जालमा त्रसित तरिकाले तहल्का पिटेको कारण मानिसहरू बढी डराएका रहेछन्, म पनि यहि कारणले अलिअलि डराएको थिएँ । कोरोनाको अनुभव गर्नेहरूको पनि गम्भीर स्थितिका भिडियोहरू मात्रै देखिएको कारणले गर्दा आफू पनि त्यहि स्थितिमा पुगिने हो कि, मारिने पो हो कि ! भन्ने ठूलो डर लाग्दोरहेछ ।
कति मान्छेहरूमा कोरोना लागेपछि शरिरमा भएको रोगहरू बढेर मर्दा रहेछन् । कति त कोरोना लागेको सुन्ने बित्तिकै डरले हृदयघात भएर मर्दा रहेछन् । सामाजिक सञ्जालले फैलाइदिएको त्यो भ्रम र डरले प्रतिरोध क्षमता र आत्मबल नभएकालाई धेरै असर गर्दोरहेछ ।
यो बेला रक्तचाप भएका र मुटु रोगीहरूहरू डरका कारण हार्टअट्याक भएर नै सकिँदा रहेछन् । कति ठाउँको ठाउँ लडेर बेहोस हुँदा रहेछन् । कमजोर सोचाई भएकाहरू भनेडर र परिवारको चिन्ताले बढी सोचेर डिप्रेशनमा पर्दा रहेछन् । कतिले डर खप्न नसकेर आत्महत्या पनि गर्दा रहेछन् । तर, मलाई के अनुभव भयो भने अलिक ध्यान दिए र शरीरमा अन्य रोग नभए हामीमा यो भाइरसबाट कुनै असर हुन सक्दैन । शरीरमा कुनै लक्षण नै छैन भने अलि ध्यान दिए डर मान्नै पर्दैन । यो मेरो अनुभव हो, तर ध्यान नदिए चाहिँ स्वास फेर्नै कठिनाइ भएर ज्यान जान पनि सक्नेरहेछ ।
म जस्तै कोरोना संक्रमित साथीहरूको अनुभवका आधारमा यो लेखिरहेको छु । आफ्नो ख्याल गर्ने र सधैँ पोसिलो खानेकुरा खाने, तातोमा रहने, घरायसी आयुर्वेदिक औषधि खाने र आत्मबल दह्रो भएका, कोरोना लागेको भन्ने थाहा नै नपाई सामान्य रुघाखोकी होला भन्ने सोचिरहँदा पनि संक्रमणमुक्त भइसकेका हुँदा रहेछन् ।
यो भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै संक्रमण हुने हुनाले अलि बढी सतर्क हुनुपर्ने हो । मेरो शरीरमा पनि यो भाइरस कतैबाट संक्रमण भई पोजेटिभ देखिएको थियो । मानव शरिरमा भाइरस संक्रमण हुँदा व्यक्तिअनुसार फरक–फरक लक्षण देखिँदो रहेछ । म जस्तै कोरोना संक्रमण भएर क्वारेन्टाइनमा बस्ने अरु बिरामी साथीहरूसँग सोध्दा फरक –फरक लक्षण भएको पाएको छु ।
यो भाइरसले शरीरमा रोग प्रतिरोधात्मक क्षमता भएका सामान्य स्वास्थ्य भएकालाई खासै समस्या बनाउँदो रहेनछ । जसको शरीर कमजोर छ, पहिला मुटुको समस्या, रक्तचाप, मधुमेह, निमोनिया, दम र मिर्गौलाको समस्या भएकालाई यसले अप्ठेरो पार्न सक्छ । त्यसैले, यसबाट विजय प्राप्त गर्न आवश्यक पर्ने प्रोटिनयुक्त खानेकुराहरू खानुपर्छ ।
खानपिन र दिनचर्या
( नियमित मास्क, स्यानिटाइजर र ग्लोब्स प्रयोग गर्ने, मिल्छ भने दैनिक बिहान ८–१० बजेभित्र कम्तीमा आधा घण्टा घाममा बस्ने। यसो गर्दा शरीरलाई भिटामिन डी प्राप्त हुन्छ । बाहिर अनावश्यक ढंगले ननिस्कने ।
दिनमा कम्तीमा ४ देखि ६ लिटरसम्म तातोपानी पिउने, सार्वजनिक स्थलमा भौतिक दूरी कायम राख्ने । सामान्य तापक्रममा बस्ने । सकभर आफ्नो काम आफैँ गर्ने । दैनिक ४–५ पटक बाफ लिने । सकभर एयर कन्डिसनको नजिक नबस्ने । ( अत्याधिक रूपमा भिटामिन सी पाउने फलफूलहरू जस्तै ः आँप, सुन्तला, एभोकाडो, कागती, मेवा खाने, भिटामिन सी क्याप्सुल पनि लिन सकिन्छ । आत्मबल बढाउने र आफन्तसँग निरन्तर सम्पर्कमा रहने । सधैँ हलुका शारीरिक व्यायाम गर्ने । बेसार, जिरा, मरिच, अदुवा पानी, तातो पानीमा मह र कागती राखेर पिउने, दैनिक ४–५ पिस काजु, बदाम, जस्ता पौष्टिक खाने कुरा खाने, समय समयमा तातो सुप पिउने, खाना खाँदा अनिवार्य २ पोटी लसुन खाने र झोलिलो खानेकुरामा बढी जोड दिने । मादक पदार्थ साथै चुरोट तथा सुर्तीजन्य बस्तु सेवन नगर्ने । एकान्तमा बस्ने अरु मान्छेको नजिक नजाने, खोकी वा हाँच्छ्यु लागेमा रुमालले छोपेर गर्ने ।
नाक र मुखबाट लामो सास लिएर केही समय ८–१० सेकेन्ड रोकेर बिस्तारै सास फाल्ने, यसो गर्दा फोक्सोलाई राम्रो हुन्छ । सुत्दा खेरी घोप्टो वा कोल्टो परेर सुत्ने यसरी सुत्दा फोक्सोलाई सहयोग पुग्छ । घाँटी दुखेको छ भने तातो पानीमा नुन राखेर सहन सक्ने गरी कुल्ला गर्ने, यसो गर्दा घाँटी दुख्न कम हुन्छ । यसले घाँटीमा भएका ब्याक्टेरिया पनि मार्छ । बिहान उठेर १ गिलास तातो पानीमा २ चम्चा मह र कागती निचोर पिउने । चिसो खाने कुरा, फ्रोजन आइटम, मोही र दही नखाने ।
क्वारेन्टाइनमा बस्दा आफूलाई मनपर्ने, भुलाउने फिल्म हेर्ने, आफन्तसँग हाँसी खुसी कुरा गर्ने, आफूलाई व्यस्त राख्दा तनाव कम हुन्छ । माथि लेखिएका कुराहरू दैनिक रूपमा पालना गर्दा कोरोना पोजेटिभ देखिएको १० देखि १४ दिनसम्ममा नेगेटिभ हुन्छ । कहिलेकाहीँ कोरोना संक्रमण भएको व्यक्तिलाई छाती दुख्ने र श्वास लिन गाह्रो हुनसक्छ । यस्तो समस्या आएमा तुरुन्त नजिकको अस्पतालमा सम्पर्क गरेर परामर्श लिनुपर्छ ।
कोरोना संक्रमण भएका मान्छेलाई परिवार, समाज र साथीहरूले घृणा होइन, माया र हौसला दिनुहोस् तपाईंको माया र हौसलाले अवश्य तपाईंका आफन्त र साथीले कोरोनासँगको लडाइँ जित्नुहुनेछ ।
साभार……………











